आफ्नै कार्यकालमा जनताको जीवनमा गुणात्मक परिवर्तन आउँछः प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडाैं ।  नेकपा मा‌वादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीले शुत्भकामना ब्यक्त गरेका हुन् ।

विज्ञप्ति मार्फत  प्रधानमन्त्री प्रचण्डले नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित सबैमा  शुभकामना व्यक्त गर्दै -नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुक हो । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएकाे बताएका  छन् ।

उनले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जाति भएकाले  विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेशा बिस्तारै लोप हुँदै गएको छ । यद्यपि, माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्वन्धलाई थप उजागर र स्थापित गर्ने बताएका छन् ।

प्रधानमन्त्री  प्रचण्डले  वर्तमान सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेकाे बताउँदै  यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन हार्दिक अपील गरेका छन् ।

मा प्रकाशित