
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन् । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नु परेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको बताए ।
लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित समेत भएको बताउँदै प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भइसकेकाेले मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढ्ने बताए ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।

