धान भित्र्याउने बेलासम्म नै लाग्दै लागेन बाला

स्याङ्जा, १४ कात्तिक, २०७९ । निकासखबर संवाददाता

धान पाकेर भित्र्याउने बेलासम्म पनि बोटमा दाना नलागेपछि जिल्लाका किसानमाझ चिन्ता फैलिएको छ । जिल्लाकै वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलाग्दा किसान निराश बनेका हुन् ।

विगत दुई वर्षदेखि स्थानीय एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ ल्याएरु लगाउँदै आएका कृषक टेकप्रसाद डुम्रेले अरु बेला उत्पादन राम्रो भए पनि यस वर्ष धानमा दानै नलागेको बताए । ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ के भयो–भयो’ उनले भने ‘पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’

सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नलागेपछि मानो खाएर मुरी भिœयाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उन चिन्तामा परेका छन् । ‘धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे’ उनले थपे ‘विगत वर्षहरूमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।’

सोही ठाउँ अन्य तीन कृषकले दश रोपनी क्षेत्रफलमा पनि धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए । कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । अन्य कृषकले लगाएको सोही जातको धानमा राम्रो फलेको छ तर चार कृषकको खेतमा लगाइएको धानमा दाना नै नलागेको यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारणले क्षति भएको प्राविधिक थापाले बताए ।

‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको थापाको दाबी छ । केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार–पाँच दिन परेको अविरल वर्षाले क्षति भएको कृषि प्राविधिकले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित