भारतीय उत्पादनको कब्जामा नेपाली बजार, नेपाली किसान मारमा

निकासखबर संवाददाता

बाँके। लागतबराबर पनि मूल्य नपाएपछि बाँकेको खजुरा गाउँपालिका– २ ए गाउँका अगुवा किसान लालबहादुर खत्रीले दुई सय क्यारेट गोलभेडा मलखादमा खन्याएका छन् । प्रतिकेजी पाँच रुपैयाँ पनि नपाएपछि उनले गोलभेडा मलखादमा हालेका हुन् ।

सरकारी अनुदानलगायत विभिन्न सहुलियतका कारण कम लागतमा उत्पादन हुने भारतीय गोलभेडा बजरामा सस्तोमा आउँदा नेपाली उत्पादनले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ । नेपाली किसानलाई बिउ, मललगायतमा राज्यले सहुलियत नदिएका कारण उत्पादन लागत महँगो पर्न जान्छ ।

उनको बारीमा करिब सय क्विन्टल गोलभेडा टिप्न बाँकी रहेको छ । यतिबेला उनको गोदाम पनि टमाटरले भरिएको छ । लागतसमेत उठ्ने मूल्य नपाएपछि दुई सय क्यारेट गोलभेडा मलखादमा फाल्न बाध्य भएको उनले बताए । प्रतिकेजी ५–६ रुपैयाँमा पनि बिक्री नभएपछि लागत खर्च पनि नउठ्नुभन्दा बरु मल बनाएर प्रयोग गर्न सकिन्छ भनेर मलखादमा खन्याएको उनको भनाइ छ ।

टिपेको गोलभेडा कुहिएर गनाउन थालेपछि बाध्य भएर मलखादमा फालेको उनले सुनाए । अझै हजार क्यारेटभन्दा बढी बारीमै कुहिएको गुनासो गरे । देशलाई कृषिमा आत्मनिर्भर बनाउने योजना हरेक सरकारको नीति तथा कार्यक्रममा परेपनि नेपाली कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर बारीमै कुहिने गरेको उनले बताए ।
देशलाई सघाउने कृषक ऋणमा डुब्दासमेत राज्य रमिता हेरेर बस्छ । न त सहुलियत दिन्छ, न बिक्री गर्ने वातावरण नै बनाइदिन्छ ।

खत्रीले करिब तीन बिघामा तरकारी खेती गरेका छन् । अघिल्ला वर्षमा पनि नेपाली उत्पादनले उचित मूल्य नपाएको उनको गुनासो छ । भारतबाट आयात भएका तरकारीका कारण स्थानीय किसानले गरेका उत्पादनले बजार पाउँदैनन् । आफु जस्तै मारमा धेरै किसान परेका खत्रीले बताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित