विप्लव समूहका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश

निकासखबर संवाददाता

काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरु, संविधान सभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी कन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउनुहुँदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए ।

पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा उनको जोड थियो ।

जनयुद्दकालदेखिका कतिपय प्रशंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु एकहुन अपील गरेका छन् ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गर्ने समेत उनले बताए ।

विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको अध्यक्ष दाहालको भनाइए छ । नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताए ।

“हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन् ।” उनले भने, “अब पूर्व माओवादीहरु माओवादी धारामा केन्द्रीत भएर प्रतिक्रियावादीविरुद्ध चट्टान भएर खडा हुनुपर्छ ।”

माओवादी आन्दोलनमा देखा परेका वैचारिक तथा संगठनात्मक विवादलाई पार्टी विभाजन गर्ने तहसम्म पुर्याउनु गलत भएको उनको भनाइ थियो। “पार्टीमा वैचारिक, कार्यशैली र कार्यक्रमिक अन्तरविरोध हुनु स्वभाविकै भएपनि आन्दोलन नै क्षतिविक्षत हुने काम भयो । पार्टीलाई अलग थलग बनाएर बिभिन्न बहानामा, विदेशी शक्ति केन्द्रबाट परिचालिन भएर आन्दोलनलाई क्षतविक्षत बनाइयो ।” उनले भने, “त्यसैले हामीले पूर्व माओवादी एक भएर अघि बढ्नैपर्छ भन्ने अनुभूति गरेर ध्रुवीकरणको प्रक्रियामा अघि बढेका हौं । जनयुद्दलाई नस्वीकार्ने एमाले जस्तो शक्तिसँग गठबन्धनको जुन षडयन्त्र विप्लवहरुले गरेका छन्, त्यसबाट कतै विदेशी शक्तिका विरुद्ध आफ्नै इतिहास कुल्चिने काम त भइरहेको छैन भन्ने शंका भएको छ ।”

उहाँले अधुरो क्रान्ति पुरा गर्ने नाममा विप्लव पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा १२ जनाको सहादत भएकोले उहाँहरुलाई सहिद घोषणा गर्न पहल गर्नुपर्ने बताए । सहिद र आश्रित परिवारलाई राहत र क्षतिपूर्तिका लागि पहल गर्ने र जेलबन्दीका रुपमा रहेका ११३ जनालाई रिहाईका लागि समेत पहल गर्न उहाँले अनुरोध गरे ।

मा प्रकाशित