स्याङ्जा । पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति संरक्षणका लागि शुक्रबार पञ्चेबाजा वितरण गरिएको हो ।
परम्परा र चालचलन हराउँदै गएमा हाम्रो संस्कृति मासिने भएकाले संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । संस्कृति र परम्परा संरक्षण गर्दै नयाँपुस्तामा हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको उनको भनाइ छ ।
पञ्चेबाजा लोप हुन नदिन चालू आर्थिक वर्षमा विनियोजन गरिएको रु आठ लाख बजेटबाट खरिद गरिएका बाजा विभिन्न वडाका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।
धेरै वर्ष पहिले किनेका पुराना बाजालाई मर्मत गरेर काम चलाउने गरेको र नयाँ बाजा महँगो पर्ने भएकाले किन्न सक्ने अवस्था पनि नभएकाले आफुहरु बाजा पाएपछि खुसी भएको आँधीखोला–५ स्थित अरिङ्गालले बाजा समूहका अध्यक्ष ठाकुर परियारले बताए ।
पञ्चेबाजा बजाउँदै आएका पालिकाका छ वटै वडाका आठ बाजा समूहलाई नरसिंह, सनही, दमाहा, ढोलकी, ट्याम्को र एउटा झ्याली वितरण गरिएको थियो ।