अपराजित रहँदै नेपाल फाइनलमा

निकासखबर संवाददाता

काठमाडौं ।  त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालको जितसँगै पपुवा न्यु गिनी (पिएनजी) नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ । सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले पावर प्लेमा विकेट गुमाए पनि मध्यक्रमका दीपेन्द्रको उत्कृष्ट ब्याटिङले टोलीले सफलता निकाल्न सफल भएको बताए ।

नेपालले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो । हारसँगै मलेसियाको फाइनल पुग्ने सम्भावना सकिएको छ । जित निकालेको अवस्थामा मलेयिालाई फाइनल पुग्ने समिकरण थियो । जवाफी ब्याटिङ गरेको मलेसियाका लागि ओपनर विरन्दीप सिंह सर्वाधिक ४७ रन जोडेका थिए । यसबाहेक, कप्तान अहमद फैजले ३३, अ‍ैनोल हाफिजले , र सेद अजिजले १७ रन जोडेपनि जितका लागि पर्याप्त भएन ।मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १९ रन खर्चिए । यस्तै, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेल र रोहितकुमार पौडेलले एक एक विकेट लिए ।

यसअघि मध्यक्रम ब्याट्स म्यान दीपेन्द्रसिंह ऐरीको सतक सहयोगमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय २३ रनको योगफल तयार गरेको थियो । नेपालको ब्याटिङमा दीपेन्द्रले सर्वाधिक १ सय १० रनको अविजित इनिङ खेले । ऐरीले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनले ५५ बलमा सतक पूरा गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो तथा नेपालको चौथो सतक हो । यस्तै, रोहितकुमार पौडेलले अर्धशतक बनाएका थिए । रोहितले ३४ बलमा ५१ रन बनाएर आउट भए । रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेको थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः १२ र १८ रन बनाउँदै पवेलियन फर्किएका थिए । यसबाहेक, आरिफ शेख दुई रनमा आउट हुँदा आदिल अन्सारीले १४ रन बनाए । बलिङ तर्फ मलेसियाका मुहम्मद वफिक, पवनदीप सिंह, स्यार्जुल इद्रुस र मुहम्मद अमिरले समान एक विकेट लिए ।

यस अघिका खेलमा नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रनले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा पिएनजीलाई ३७ रनले पराजित गरेको थियो ।

मा प्रकाशित