जुम्ला । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुम्लाका राजनीतिक दल गाउँमा प्रवेश गर्न थालेका छन् । जुम्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलका नेताहरू चुनाव लक्षित कार्यक्रम लिएर गाउँमा छिरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रमअघि बढिसकेको बताए । उनका अनुसार ५ चैतदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उनले भने, ‘गाउँमा भेटघाट कार्यक्रमलाई तीव्र पारिएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ ।’
माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ । एमसीसीबारे माओवादी केन्द्रको धारणासमेत तल्लो कमिटीसम्म पु¥याउने काम गरिरहेको छ ।
जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम भइरहेको दलहरुले बताएका छन । एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले पनि औपचारिक रुपमा चुनावी प्रचार अभियानमा गाउँमा प्रवेश गरिसकेको बताए ।
चुनावी अभियानसहित स्थानीय तहमा भेला, गोष्ठी, संगठन विस्तारको अभियान चलाइएको एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले जानकारी दिए ।
काग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानसहित चुनावी तयारीमा जुटेको कांग्रेस उपसभापति कार्मा बुढाले जानकारी दिए ।
सरकारले आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।