घेराबन्दी गरेर माओवादीलाई कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्छः प्रचण्ड

निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरुले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दावी गर्दै विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको बताए । प्रचण्डले कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे खुलाएनन् ।

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गर्दै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएकोमा पछुतो भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बामगठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए । तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई केपी प्रबृतीका कारण लाचार भएको बताए ।

 

मा प्रकाशित