पार्टीले एमसीसीको विरोधमा निर्णय गरे राजीनामा दिन्छुः प्रचण्ड

निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे स्थानीय तहको निर्वाचनपछि पार्टीमा बहस हुने बताएका छन् ।  प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सम्झौता पारित गर्ने सन्दर्भमा पार्टीबाट भएको पूर्वनिर्णय फेल भएमा राजीनामा दिने घोषणा गरेका छन् ।

पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका प्रचण्डले एमसीसीबारे पार्टीमा फरक बुझाई रहेको स्वीकार गर्दै एउटा अपिलमार्फत् साझा भाषा बनाएर निर्वाचनमा जाने निर्णय पार्टी केन्द्रीय समितिले गरेको बताए । व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिँदै उनले सार्वभौम संसदको निर्णय कार्यान्वयनको विकल्प नभएको बताए ।

स्थानीय तहको निर्वाचनमा आफ्नै संगठन बलियो बनाएर होमिने जानकारी दिँदै अध्यक्ष प्रचण्डले मुद्दा र आवश्यकताको आधारमा तालमेल हुनसक्ने बताए । गठबन्धनका दलहरुबीच नै स्थानीय तहको चुनावमा तालमेल गर्न पहल गर्ने उनको भनाइ छ ।  काँग्रेसका कतिपय नेताहरुले गठबन्धन गर्नुहुँदैन भन्नेगरी दिएको अभिव्यक्ति आन्तरिक पार्टी जीवनमा आफू सुरक्षित हुनका लागि भएको आफूले बुझेको बताउँदै प्रचण्डले त्यस्तो मतबारे पार्टीभित्रै छलफल गर्न सुझाब दिए । तर, शतप्रतिशत गठबन्धन हुन्छ र त्यही अनुसार चुनावमा जान्छौं भन्ने कुरा सही नभएको उनको भनाइ छ ।

आफ्ना पार्टीका केही नेता र कार्यकर्ता एमसीसीको विरोध गर्दै एमालेमा प्रवेश गरेकोप्रति आश्चर्य प्रकट गर्दै प्रचण्डले एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्नु अनौठो र लाजमर्दो भएको टिप्पणी गरे । एमसीसीकै कारण पार्टी छाड्ने भए विप्लवदेखि विजुक्छेसम्मको पार्टीमा जान उनले सुझाब दिए । ‘केही साथीहरुको अचम्म के लाग्छ भने एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्ने चाहिँ अनौठो र लाजमर्दो कुरा हो । बरू विजुक्छेकामा जानु, कि किरणजीकोमा जानु, विप्लवकोमा जानु त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो नि,’ उनले भने । मोरङको रंगेलीका मेयर दिलिप बगडियाको एमाले प्रवेशबारे सोधिएको प्रश्नमा प्रचण्डले यसअघि नै गइसकेका र खुट्टा उचालेकाहरूले पार्टी छोड्दा खासै फरक नपर्ने बताए ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले गठबन्धन दलहरुबीच केन्द्रमा बनाएजस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भइसकेको बताए ।

मा प्रकाशित