चुनावी गतिविधितीर केन्द्रीत हुदै रुकुम पश्चिममा प्रमुख दलहरु

निकासखबर संवाददाता

रुकुम पश्चिम । स्थानीय तहको चुनाव नजिकिए संगै रुकुम पश्चिम स्थित दलहरुले पनि आफ्ना गतिविधीहरु बढाएका छन् । गाउँगाउँमा आफ्ना भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्नेदेखि फरक पार्टीमा रहेका नेता कार्यकर्ता र सुबेच्छुकहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाउन थालेका हुन् ।

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले स्थानीय तह निर्वाचनका लागि चुनावी परिचालन कमाण्डर बनाएर स्थानीय तहहरुमा खटाएको छ । जिल्लाका सबै स्थानीय तहहरुमा हाल विभिन्न गतिविधिहरु भैरहेका छन । माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिले निर्वाचन परिचालन समिति हालै गठन गरेको छ ।

पार्टी नगर समितिको विस्तारित बैठकले केन्द्रीय सदस्य बसन्त शर्मा कुशलको संयोजकत्वमा ४५ सदस्सीय निर्वाचन परिचालन समिति गठन गरेको हो । उक्त निर्णय अनुसार माओवादीले मुसीकोटमा केन्द्रीय सदस्यलाई निर्वाचन परिचालनको जिम्मेवारी दिएको हो । मुसीकोट निर्वाचन परिचालनको जिम्मा पाउनुभएका शर्मा पार्टीको जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य समेत हुन ।  बैठकले विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलनलाई तिव्रता दिने निर्णय गरेको नगर समिति अध्यक्ष धिरण शिर्पालीले बताए ।

त्यस्तै नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्लाका सबै स्थानीय तहमा टोली परिचालन गरेको छ । बिहिबार र शुक्रबार मुसीकोट खलंगाको विपि स्मृति भवनमा बसेको जिल्ला कार्य समिति बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सबै पालिकामा ७ सदस्यीय टोली परिचालन गर्ने निर्णय गरेको हो ।

जस अनुसार मुसीकोट नगरपालिकामा हर्कसिंह खत्री, चौरजहारी नगरपालिकामा विरबहादुर ओली, आठबीसकोट नगरपालिकामा तिलक भण्डारीको नेतृत्वमा टोली परिचालन भएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकामा जिल्ला सचिव तारकबहादुर शाही, सानीभेरी गाउँपालिकामा जिल्ला सचिव परमेश्वर भण्डारी र त्रिवेणि गाउँपालिकामा कोषाध्यक्ष मोहबिर खड्कालाई संयोजकको जिम्मेवारी बैठकले दिएको छ । उक्त टोलीले निर्वाचन लक्षित कार्यक्रमहरु गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए ।

त्यस्तै अर्को दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले सबै पालिकामा पार्टी बैठक तथा भेला गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार मुसीकोट स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले सबै पालिकाको पार्टी बैठक गर्ने निर्णय गरेको हो ।

त्यस्तै उक्त पार्टीले आफ्ना विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलन गर्ने कार्य पनि जारी राखेको छ । त्यस्तै नेकपा एमाले रुकुम पश्चिमले पनि गाउँगाउँमा निर्वाचन केन्द्रीय कार्यक्रमलाई जोड दिएको बताएको छ । विभिन्न जनवर्गीय संगठनको भेला सम्मेलनलाई पनि तिब्रता दिएको छ ।

मा प्रकाशित