अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी

निकासखबर संवाददाता

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। जनप्रतिनिधि आएपछि जिल्ला सबैभन्दा विवादित यो गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा तालाबन्दी भएको हो ।

नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए । कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनको भनाइ छ । अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष मण्डलले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको छ । अख्तियारी नदिएकै कारण आर्थिक कारोबार गर्न नसकेको र महिलाहरु ताला लगाउन आएपछि आफूसहितका कर्मचारी बाहिर निस्केको यादवले बताए ।

अध्यक्ष मण्डलले मनोमानी तरिकाले खर्च गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि समस्या बल्झिँदै गएको गाउँपालिकाका एक कर्मचारीले बताए ।

यस विषयमा गाउँपालिका अध्यक्ष मण्डलले ४ करोड रुपैयाँ भुक्तानी दिन कानुनले नमिल्ने कर्मचारीहरुले बताएपछि आफ्नो निर्देशनमा ताला लगाएको स्वीकार गरेका छन् ।

आफ्नो एकल निर्णयमा आफूखुसी खरिद गरेका सरसामानको ४ करोड भुक्तानीको दिए मात्रै अख्तियारी दिने भनेपछि कर्मचारी र गाउँपालिका अध्यक्षबीच विवाद हुँदै आएको थियो ।

मा प्रकाशित