अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान

निकासखबर संवाददाता

 झापा । झापाको अर्जुनधारा नगरपालिकाले नगरपालिका भित्रका अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान गरको छ । नगरपालिकाले ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिका भित्र रहेका अन्तरजातिय विबाह गर्ने दम्पतीलाई सम्मान गरेको हो ।

यस अघि कसैले पनि सम्मान नगरेको हामीलाई पहिलोपटक अर्जुनधारा नगरपालिकाबाट सम्मान पाउँदा धेरै खुशी भएको वैवाहिक वर्षगाँठको ३९औं वसन्त पार गरेका धनबहादुरले बताए । नगरपालिकाले अन्तरजातिय विवाह गर्ने दम्पत्तीलाई छनौट गरि सुरु गरेको सम्मान कार्यक्रम राम्रो भएको र यसले निरन्तरता पाउनुपर्ने अर्जुनधारा–८ निवासी ३५ वर्षीय निरज रसाइलीले बताए ।

त्यसैगरी अन्य सम्मानित दम्पत्तीहरुमा अर्जुनधारा–२ निवासी योगेन्द्र दर्जी र इन्द्रमाया तामाङ, अर्जुनधारा–३ निवासी कल्पना गहतराज, अर्जुनधारा–६ निवासी वृहस्पति वि.क. र संगिता लिम्बू, अर्जुनधारा–७ निवासी भवानीशंकर तोश्नीवाल र लक्ष्मी कठेत, अर्जुनधारा–९ निवासी हेमलाल परियार र नीशा राई, अर्जुनधारा–१० निवासी उर्मिला विश्वकर्मा र अर्जुनधारा–११ निवासी गोकुल बाग्दास र रविना श्रेष्ठ रहेका छन् ।

अन्तरजातिय विवाह गर्ने दम्पत्तीहरुलाई सम्मान गर्ने नगरपालिकाको यो कार्य उदाहरणीय भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पूर्व प्रदेश सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताइन् । समाज रुपान्तरणको लागि अर्जुनधारा नगरपालिकाले एक कदम अगाडि बढाएको उनको भनाइ छ ।

कानूनमा व्यवस्था भएको कुरालाई कार्यान्वयन गर्ने उद्धेश्यले आफूहरुले अन्तरजातिय विवाह गर्ने दम्पत्तीहरुलाई सम्मान गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । यसरी अन्तरजातिय विवाह गर्ने दम्पत्तीहरुलाई सम्मान गर्ने पालिकाहरुमध्ये अर्जुनधारा नगरपालिका पहिलो भएको प्रमुख रानाले दावी गरेका छन् ।

मा प्रकाशित