तरकारी खेतको टहरोमा भेटीएको महिलाको शवको पहिचान खुल्यो

निकासखबर संवाददाता

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित तरकारी खेतको टहरोमा हत्या गरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव काभ्रेको नमोबुद्ध–९ स्थायी घर भई भक्तपुर नगरपालिकास्थित नागपोखरी क्षेत्रमा डेरा गरि बस्ने २८ वर्षीया जेनिसा नगरकोटीको भएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमानले उनको सनाखत गरेका भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले बताए । तरकारी खेतमा काम गर्न जाने व्यक्तिले टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटी अगाडि गहिरो चोट रहेको छ । शरिरका अन्य विभिन्न भागमा पनि चोट रहेको डीएसपी पाण्डेले बताए ।

प्रहरीले आइतबार बिहानको समयमा नगरकोटीको हत्या भएको हुन सक्ने आशंका गरेको छ । ‘शव भएको स्थान एकान्त भएकाले दुई दिनसम्म कसैले चाल नपाएका पाण्डेको भनाइ छ । प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा उनका श्रीमानले आफु शनिबार काभ्रे गएको र सोमबार साँझ मात्र कोठा आएको बताएका छन् । महिलाको शव भेटिएको जानकारी पाएपछि ती व्यक्ति प्रहरी सम्पर्कमा पुगेको जनाइएको छ । नगरकोटीका ५ वर्षीय छोरा छन् । उनी मामाघरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

‘घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान ज्यालामजदुरी काम गर्दै आएका छन् । मृतक भने गृहणी रहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित