पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियो

निकासखबर संवाददाता

जुम्ला । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित एस मोडमा झुण्डिएको छ ।

ट्रकको ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारको प्रयास भइरहेको छ । गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केको हो ।

तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रकको अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् ।

उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको बताए । चालकको स्वास्थ्य जाँच गर्न पठाएको छ । कैलाली घर भएका चालक हरिस धामीले चलाएको उक्त ट्रकको आधा भाग सडक बाहिर निस्केको छ । लोड गरिएको पौष्टिक आहार सुरक्षित निकाल्न प्रहरी खटिएको छ ।

एस मोडको सडक साँघुरो भएका कारण यसअघि पनि ट्रक दुर्घटना भएको थियो । प्रहरीका अनुसार एउटा ट्रक केही बर्षअघि पनि त्यहाँबाट खसेको थियो । कर्णाली राजमार्गमा साँघुरो भएकाले जुनसुकै स्थानमा पनि दुर्घटनाको जोखिम भएको सवारी चालकहरू बताउँछन् । खिडिकी ज्यूलादेखि हुल्म क्षेत्रसम्म तीन मिटर बराबरको पनि सडक नहुँदा कैंयौं स्थानमा दुर्घटनाको जोखिम बढेको छ ।

कर्णाली राजमार्गका जिप चालक इन्द्रबहादुर बिष्टले भने, यो राजमार्गमा चार बर्षदेखि जिप चलाउँदै आएको छु । साँघुरो सडक, धुलो र हिलोले हैरान बनाउँछ । कर्णाली राजमार्गको डुगेश्वरदेखि पालतडासम्मको क्षेत्रमा बर्षौदेखि धुँलो र हिलोले सताइरहेको चालक डाँगीले बताए ।

मा प्रकाशित