
ओखलढुंगा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता निशान्त शर्मा ओखलढुंगा जिल्ला संयोजक बनेका छन् । चिशंखु गढी गाउँपालिकाका अध्यक्ष समेत रहेका शर्माले पार्टीको संयोजकको जिम्वेवारी पाएका हुन् ।
प्रदेश सदस्यहरुले लगाएको जिम्मा अनुसार विहिबार शर्मालाई ओखलढुंगाको जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । माओवादी केन्द्र प्रदेश नं. १ समिति तथा जिल्लाका प्रदेश सदस्यहरुले जिल्ला नेतृत्वको टुङ्गो लगाउन नसक्दा जिल्ला संयोजक तोक्ने जिम्मा अध्यक्षलाई दिईएको थियो।
शर्मालाई जिल्ला संयोजक तोकेको विषयमा पार्टी केन्द्रवाट आधिकारीक सर्कूलर भने जिल्ला पार्टी कार्यालयलाई उपलब्ध भै नसकेको जिल्ला पार्टीले जनाएको छ । जिल्ला संयोजकको जिम्मेवारी तोकेसँगै जिल्ला ईञ्चार्ज तथा सहईञ्चार्जको समेत टुङ्गो लगाउने काम चाँडै हुने भएको छ।
माओवादी केन्द्रको जिल्ला संयोजक बन्ने आकांक्षा धेरै नेताहरुले राख्दा लामो समयसम्म जिल्ला नेतृत्वको टुङ्गो लाग्न सकेको थिएन । पार्टी केन्द्रले प्रदेश नं. १ का अर्थ समितिका सभापति समेत रहेका ओखलढुंगा सांसद मोहन खड्कालाई संयोजकको जिम्मा दिन चाहेको थियो । तर एक मान्छे एक पदको पार्टीको अबधारणालाई कार्यान्वयन गर्न भन्दै खड्का ईच्छुक देखिएका थिएनन् ।

