नारी दिवसबारे महिलाहरू नै अनभिज्ञ

निकासखबर संवाददाता

सप्तरी । ‘सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नाराका साथ यस वर्ष ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ। नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको दशकौं भयो।

महिलाको अधिकार, महिला अधिकार रक्षा र महिलाले आफ्नो समस्या राख्ने र अधिकार माग्ने थालेको रूपमा महिला दिवस मनाइँदै आए पनि ग्रामीण भेगका महिला यसबाट अनभिज्ञ छन्।

सप्तरी छिन्नमस्ता गाउँपालिका ललापट्टीकी ८० वर्षिया फुलिया देवी यादवले महिला दिवसको विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताइन्।उनले भनिन्, ‘गाउँमा यस विषयमा कुरा गरेर हामीलाई जानकारी गराए पो थाहा हुन्छ । सधैं चुलाचौका र खेतीपातीको काममा व्यस्त हुँदाहुँदै जीवन सकिन लागेको छ।’

राजविराज नगरपालिका–१ कि ७८ वर्षीया दल्लु देवी यादवले छोरालाई मात्र नभएर छोरीलाई पनि शिक्षा दिएर आत्मनिर्भर बनाइसकेकी छिन्। गाउँमा बालिका शिक्षाको महत्त्व तथा बालविवाह न्यूनिकरणका लागि वकालत गर्दै आए पनि महिला दिवसको विषयमा अनभिज्ञ रहेको जानकारी दिइन् ।

उनले भनिन्, झन एक अक्षर पनि पढेको छैन । कसैले कुनै विषयमा जानकारी दिएपछि बुझ्न र सिक्न तत्पर रहन्छ। तर महिलाका लागि महिला दिवस पनि हुन्छ भन्ने आज सुन्दैछु। यो मेरा लागि नयाँ विषय हो।’

सोही ठाउँकी ६० वर्षीया जलेश्वरी देवी खंगले भनिन, महिला दिवसको विषयमा जानकारी नहुनु दुःखद् भए पनि यसमा महिलाहरूको दोष देख्दिन ।’ यस गाउँमा विभिन्न कार्यक्रमको आयोजना हुँदै आए पनि महिला दिवसको विषयमा कहिल्यै कुनै कार्यक्रम भएको थाहा नभएको उनको बताइन् ।

महिला दिवस मनाएको धेरै वर्ष भएपनि सहरमुखि भएकोले ग्रामीण महिलालाई यस विषयमा जानकारी नहुनु स्वाभाविक रहेको समाजसेवी करूणा झाले बताइन्। हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिएको छ । यस वर्ष आउँदो मंगलबार परेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित