नागरिक आवास कार्यक्रममा कार्यकर्ता र पहुंचवालाको हालीमुहाली

निकासखबर संवाददाता

खोटाङ । खोटाङमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत लाभग्राही छनोटमा मनपरी भएको छ। फुसको वा कच्ची छानालाई हटाएर जस्तापाताको छाना लगाउन सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रममा मनपरी भएको हो।

२०७७ मंसिर ९ गते सुरक्षित नागरिक आवास कार्यक्रम संयोजक विशाल भट्टराईको अध्यक्षतामा जिल्ला समन्वय समितिमा बसेको बैठकले आर्थिक वर्ष २०७७र०७८ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग वसोवास गरेको र प्राकृतिक विपत्तीमा परेका घरमूलीलाई जस्तापाता वितरणमा प्राथमिकता दिने निर्णय गरेको थियो । तर, उनिहरुले नै जस्तापाता पाएका छैनन् । हुनेखाने र पहुंचवालाको हाली मुहाली देखिएको छ।

दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१० पाथेकामा वास्तविक लाभग्राहीले जस्तापाता नै पाउन नसकेको गुनासो गरेका छन् । कतिपयलाई जस्तापाता पाउने भनेर आश्वसन देखाएपछि फुसको छानो हटाएर जस्तापता लगाउन तयारी गरेको तर जस्तापाता नपाएको अवस्थामा त्रिपाल हाले घर छाइ रहेका छन् । पाथेकामै हुनेखाने र बोल्न सक्नेले मात्रै जस्तापाता पाएको विपन्नको गसनासो रहेको छ । फुसको छानोमूनि बसेका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गले नै लाभग्राहीमा नाम नपरेका कारण जस्तापाता पाएका छैनन्। तर मंसिरको बैठकले उनीहरुलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको थियो ।

सुरक्षित नागरिक आवासको लाभग्राहीमा समेटिन आफूले वडा कार्यालय र नगरपालिकामा निवेदन दिंदा समेत लाभग्राहीको सूचिमा नपरेको पाथेकाका राम बहादुर बिश्वकर्माले बताए । छिमेकीको जग्गामा छाप्रो बनाएर बसिरहेका विश्वकर्माले नगरपालिकामा निवेदन पेश गर्दा पनि लाभग्राही सूचिमा नपरेको गसनासो गरे । पछाडी पेश गर्नेले टिन पाए, व्यापारीहरुले टिन पाएका भए पनि उनि जस्ताले नागरिक आवास कार्यक्रम के हो देख्न सम्म पाएका छैनन् ।

जस्तापाता पाइने आशामा सोही ठाउँका अमर बहादुर बिश्वकर्माले छानो हटाएर टिन लगाउन काठ ठोके तर, उनले टिन पाएनन् । वडामा भन्दा पनि मान्छे हेरेर व्यवहार गरेको उनको भनाई छ । टिन नपाएपछि काठ जोगाउन विश्वकर्माले त्रिपालले आफ्नो घरको छानो छोपेका छन् । जोर लठ्ठीको सहायातामा मात्रै हिड्ने पाथे अत्तेलुङका ७५ वर्षीय ज्येष्ठ नागरिक जय बहादुर गिरी पनि लाभग्राहीमा परेनन् । ७४ वर्षीया श्रीमती र एक नातिनीका साथमा खर र त्रिपालले छाएको घरमा बस्दै आएका उनले सचिवलाई लाभग्राही सूचिमा पारिदिन भन्् पनि त्यो भएन ।

पाथेका अत्तेलुङकै लिलामाया गिरीले लाभग्राही सूचिका लागि निबेदन दिएका थिए । तर, उनि पनि लाभग्राही सुचिमा परेनन् । जस्तापाताको आशामा बसेका लिलामायाको घर पानी पर्दा चुहिन थालेको छ । साविक वडा अनुसार प्रति वडाबाट चार जनाका दरले ३६ जना लाभग्राहीको नाम छनोट गरेर पठाएकोमा नगरपालिकाले १८ जनालाई मात्रै लाभग्राही सूचिमा पारेको नगरपालिकाका वडा नं. १० का वडाध्यक्ष मुगाधन राईले बताए । छनोट गरिएकामध्येमा पनि अति अशक्क्त र विपन्नहरुको नाम हटाईएकाले आफूहरुले पनि नगरपालिकामा गुनासो गरेको राईको भनाइ छ । तत्कालिन नेकपा हुँदाको समयमा छनौेट समितीले छनोट गर्दा केही पार्टीका कार्याकताहरुलाई छनोट गरेको उनले स्वीकार गरे ।

पाथेकामा हुंदै नभएका खैबहादुर राई, अन्यत्र बसाईसराई गईसकेका तुलसी गिरी, निरकुमार राई तथा खार्मीमा हुंदै नभएका ललित बहादुर श्रेष्ठको नाम लाभग्राहीको सूचिमा रहेको र यसमा खैबहादु राईको नाममा आएको जस्ता पाता अको ब्यक्तीलाई दएको उनले बताए । अन्य लाभग्रहीहरु बसाइ सराइ गएका कारण र उनिहरुको विषयमा पनि नगरपालिकामा आवाज उठी सकेको राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडा कार्यालयले ३० जना लाभग्राहीको नाम सिफारिस गर्दा ८ जनाको नामावली परिमार्जन भएको भन्दै आवाज उठेको थियो ।
यस विषयमा नगरपालिका उपप्रमुख बिण राईले वडाबाट छनोट गर्दा केही मान्छेहरुको नाम त्यसरी परेको आवाज उठेका काण यस विषयमा नगरपालिकाले अनुगमन गरी पुनः निर्णय लिने बताइन् ।

यी त प्रतिनिधिमूलक मात्रै हुन्। सुरक्षित नागरिक आवास कार्यक्रममा जिल्लाभरी नै मनपरी भएको गुनासो आएको छ। राजनीतिक आस्था, निकट्ता, आफन्त र पुहंचका आधारमा लाभग्राही छनोट हुंदा सुरक्षित नागरिक आवास कार्यक्रमको अनुदान पाउनै पर्ने लाभग्राहीहरु बञ्चित बनेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित