एमसीसीमाथि आजदेखि छलफल हुने, छलफलपछि सम्झौता पारितको चरणमा जाने

निकासखबर संवाददाता

काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेकोले आजको बैठकबाट छलफल प्रारम्भ हुने भएको हो ।

कार्यसूचीलाई आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्ने छन् । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ ।

जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । साथै जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफागत रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ ।

पारितका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ । ध्वनि मत वा मत विभाजन दुवै प्रकारबाट पारित प्रक्रिया अघि बढ्न सक्नेछ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध जारी रहेकै अवस्थामा भने सम्झौता पारितमा मत विभाजनबाट सहज हुने अवस्था रहेको छ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित