अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने

निकासखबर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने भएका छन् । वाइडेनले विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताए ।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

ह्वाइट हाउसले यो वर्ष बाइडेनले कुन नेतालाई भेट्ने छन् भन्नेबारे केही बताएको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पनि संयुक्त राज्य अमेरिकाको भ्रमणको एक भागको रूपमा अर्को हप्ता संयुक्त राष्ट्र सङ्घको महासभामा उपस्थित हुनेछन्, यद्यपि इजरायली अधिकारीहरूले बाइडनलाई भेट्ने कुनै योजना नरहेको बताएका छन् ।

नेतन्याहूको कट्टर दक्षिणपन्थी सरकारले अघि बढाइरहेको न्यायिक सुधारको बाइडेनले आलोचना गरेपछि नेतन्याहू र बाइडनबीचको सम्बन्ध गत वर्ष इजरायली राष्ट्रपतिमा पुनः निर्वाचित भएदेखि नै तनावपूर्ण बनेको छ ।

जुलाईमा ह्वाइट हाउसले बाइडेन र नेतन्याहूबीच यसै वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने बताएको थियो ।रासस/सिन्ह्वा

मा प्रकाशित