संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २२ भदौ २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको जानकारी दिएका छन् । शुक्रबार निजामती सेवा दिवस २०८० को अवसरमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले विधेयकमा अहिलेको व्यवस्थालाई केही परिवर्तन नगरिएको प्रस्ट पारे । सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए ।

निजामती सेवा दिवस सोको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको जस्तो सुकै प्रणालीमा जनतालाई सेवा प्रवाह, विकास र सङ्क्रमणकालीन शासन व्यवस्थामा पनि निजामती प्रशासनले पुर्‍याएको योगदान सधैँ प्रशंसनीय रहेको समेत बताएका छन् । स्थायी सरकारका रूपमा रहेको निजामती सेवा राष्ट्र हितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्याय सहितको समुन्नतिले गति लिन सक्ने उनको भनाई छ ।

 

मा प्रकाशित