आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सरकारले शुक्रवार २० औँ निजामती सेवा दिवस मनाउन लागिएको हो ।
नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।
दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।
सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।