सत्तारुढ दल माओवादीले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एकैसाथ ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले अभियानको उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गरे ।
दिउँसो १ बजेबाट औपचारिक रुपमा शुरु गरिएको अभियानमा सबै शीर्ष नेताहरू वडावडामा पुगेका थिए । प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडाको कार्यक्रममा सरिक भए ।
गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।