डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौ, १६ भदौ २०८० ।

 

नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २१ हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले संक्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार बिरामी

सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगु संक्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगुका बिरामी भेटिएका छन् ।

मा प्रकाशित