उपत्यकाका फार्मेसी अनुगमन, १० फार्मेसी सिल

निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार ७७ वटै जिल्लामा औषधि पसल तथा फार्मेसीहरुमा अनुगमन गरेको छ। स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीको सहकार्यमा फार्मेसीहरुको अनुगमन तथा निरीक्षण कार्य भएको हो ।

सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १०१ वटा फार्मेसीमा अनुगमन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २० वटा समूह बनाएर गरिएको अनुगमनका क्रममा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरिएको छ। यस्तै, २ दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।

फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिइ औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले देशभर अनुगमन गर्न निर्देशन दिएका थिए।

सोमबार मन्त्री बस्नेत नै अनुगमनका निस्किएका थिए। अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिइ ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका मन्त्रालयले जानकारी दिएको छ।

केही फार्मेसीहरुले डाक्टरको प्रेस्किप्सन बिना औषधि बिक्री गरेको, दर्ता नभएका औषधिको सञ्चय गरेको, फिजिसियन स्याम्पल सञ्चित गरेको पाइएको मन्त्रालयले जनाएको छ। यस्तै, फार्मेसीहरुले कोल्ड चेनको राम्रो व्यवस्था नगरेको, बिलिङ सिस्टम व्यवस्थित नभएको र लागु तथा मनोद्विपक औषधिहरुको रेकर्ड उपयुक्त ढंगले नगरिएको पाइएको छ।

मा प्रकाशित