भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

काठमाडौं, १२ भदौ २०८० ।

सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।

लामो समयदेखि विद्युत विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन। सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । ऊर्जामन्त्री शक्ति बस्नेतले यसै साताभित्र सङ्घीय संसद्मा सो विधेयक पेश गरिने जानकारी दिए ।

त्यस्तै सरकारले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गरेको छ । मन्त्री शर्माले नेपाल प्रशासन सेवा सामूहीकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताइन ।

यस्तै, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरूलाई नियुक्त गर्ने निर्णय समेत भएको मन्त्री शर्माले जानकारी दिइन ।

 

मा प्रकाशित