नेपाल एयरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु

काठमाडौं, १२ भदौ २०८० ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको हो ।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं ल्याएका हङकङ जाने यात्रु ११ बजेको उडानमा र दिल्ली जाने यात्रु दिउँसो १ बजे निगमकै कनेक्टिङ उडानमामार्फत गन्तव्यतर्फ पठाइनेछ । यसका लागि भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट पनि लिनसक्नेछन् ।

मा प्रकाशित