सर्वोच्च अदालतमा स्वचालित पेशी तारिख प्रणालीको शुरुवात भएको छ । सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित प्रणालीको शुरूवातसँगै अदालतमा सुशासन कायम गर्न मद्दत पुग्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।
उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । ‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरी मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिख र हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ’ उनले भने, ‘त्यो सबै कुराहरू प्रविधिमा आवद्ध छन । प्रविधिमा आवद्ध भएको हुनाले यसले सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’ अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सक्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।
अदालतकै कर्मचारीले सफ्टवेयर विकास गरेको भन्दै उनले यो प्रणालीलाई काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतमा पनि लागू गरिने बताए ।