नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको हो । फोरमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले हल्लाका भरमा संगठन गठन गर्ने कार्यलाई निरुत्साही गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो सङ्गठन गठन गरिएको बताए ।
अहिलेको युग सुचना प्रविधिको युग भएको भन्दै अध्यक्ष प्रचण्डले आइसिटी फोरमको माध्यमबाट सङ्गठन ग्रास रुटसम्म बिस्तार हुने धारणा राखे । पार्टीको पछिल्लो तीन महिने अभियानको सफलता पनि सुचना प्रविधिको प्रयोग कति कसरी गछौं भन्नेमा भर पर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रधानमन्त्री दाहाल, पार्टीका उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भुसाल , सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा लगायतको उपस्थिति थियो ।