राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं, १० भदौ २०८० ।

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो ।

सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ।

बोलकबोल प्रक्रियाबाट खरिद गर्न सकिने उक्त ऋणपत्र इच्छुक खरिदकर्ताले भदौ १० गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यही साउन २९ गते निष्काशन हुनेछ भने २०८६ भदौ ११ गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ ।

मा प्रकाशित