चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत

काठमाडौं, ८ भदौ २०८० ।

लगानी बोर्ड नेपालले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि लगानी स्वीकृति गरेको हो ।

लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता साइजन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डमा पुगेको बोर्डले जनाएको छ । बोर्डले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

बोर्डको बैठकले ‘ग्रीन क्याल्सियम एमोनियम नाइट्रेड’ फर्टिलाइजर फ्याक्ट्री स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनिकोलियासँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको बताए ।

मा प्रकाशित