संसद चल्ने, दलहरुबीच जुट्यो सहमति

काठमाडौं, ६ भदौ २०८० ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो ।

संसदमा रहेका प्रमुख दलहरुबीच सुन तस्करीका सम्बन्धमा छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यही साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो बढी सुन तस्करीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेपछि आयोग बन्नेछ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

एमालेले उच्चस्तरीय आयोग गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । बैठक आज ३ बजेका लागि बोलाइएको छ ।

 

मा प्रकाशित