चर्चित गायक एवं अभिनेता रविन तामाङको निधन

निकासखबर संवाददाता

काठमाडौं, २० असार । चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरको कोठामा मंगलबार उनी मृत भेटिएको पारिवारिक स्रोतले बताएको छ । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको जानकारी दिएका छन् ।

पारिवारिक स्रोतले जानकारी दिएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेको थियो । भित्रबाट लक भएको ढोका प्रहरीले फोडेर हेर्दा उनी मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । हाल रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’ का संस्थापक रविनले नेपाली चलचित्रहरुमा समेत अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी सन् १९९६ मा नेपाल आएर उनले ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत गीतहरु गाएका थिए । उनका गीतहरु युवापुस्ता माझ निकै चर्चित छन् ।

मा प्रकाशित