प्रिय पुरुष,
कत्तिको याद गरेकाछौ ?
प्रत्येक महिनाको २/३ दिन
छेवैको आसनमा बस्दा
मैले आँखा बन्द गरेर, मुठ्ठी दह्रो बनाएको ?
इसारा बुझेउ कि बुझेनौ ?
‘तातोपानी खान मन लाग्यो’ भनेको ?
हुन त तिमीलाई फुर्सद नै काहाँ होला र ?
मेरो पिडा सुन्ने,
कोही मजस्तै नारीलाई फेसबुकमा
गफ दिदै हुन्छौ
मिलेसम्म,
होटलको कोठामा पुर्याउन पछि पर्दैनौ
त्यती नसके
प्रेमको नाटक गरी सामाजिक सञ्जालमै नङ्ग्याउछौ
अनि एउटी नारी
आफ्नो ब्याग कसैलाई छुन दिन्न
बदलामा तिमी कारण खोजी रहन्छौ
जवाफ स्वरुप थोरै झर्किन्छे वा मन्द हाँसो हाँसिदिन्छे
किनकि यो हाम्रो बाध्यता हो
ब्यागमा बोकेको प्याड देख्दा तिमीले
फिस्स हासेको हेर्नु छैन
मासिक रक्तस्रावको पीडा सहन नसकेर
सयौं पटक तिमीसँगै घुम्न जाने योजना टुटाएकी हुन्छे
धेरै चोटि कार्यालयमा गाली खान्छे
म सार्वजनिक यातायातमा हिँड्दा हिँड्दै
धेरै पटक महिनावारी भएँ
त्यो बेला सिट छोडेर उठेको अनुभव ताजै छ
किनकि,
म रजवती भएको समयमा
झुक्किएर देखिएको रगत
तिमीले सामान्य मान्न सक्दैनौ
मैले अप्ठ्यारो मानेको बुझ्दैनौ
बदलामा हासोको पात्र बनाइरहन्छौ
अझ घृणा भावले हेर्छौ
कार्यालयमा रक्सिको कुरा गर्दै
भट्टि धाउने तिमीलाई
सहकर्मी महिलाको निम्ति
प्याड किन्न मेडिकलसम्म जाने
फुर्सद कहिले भएन
तर, अब मलाई तिम्रो
घृणा र तिरस्कार सहनु छैन
सँगै प्रतिस्पर्धाको मैदानमा उत्रनु छ
त्यसैले अचेल, रगतका बाछिटा नदेखिउन भनेर
कालो र रातो लुगा खुब लगाउँछु
प्रिय पुरुष,
तिम्रो सामु हिड्दा थोरै सर्माउँछु ..