प्रा.डा. जयराज आचार्य र चेतनाथ धमला युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुँदै

निकासखबर संवाददाता

काठमाडाैं । युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. जयराज आचार्य र “युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार” चेतनाथ धमलालाई प्रदान गरिने भएकाे छ ।

नेपाली साहित्यका अमर स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी देशको विद्यमान विकृति,विसङ्गति र बेथितिलाई चिर्दै नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार- २०८०’  प्रा.डा. आचार्यलाई प्रदान गर्ने भएकाे हाे ।

यसै गरी  “युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार-२०८०” बाट लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरीनेभएकाे छ  ।

युगकविले युवा अवस्थामा प्रारम्भ गरेको पत्रकारितालाई स्मरण गरी प्रतिष्ठानले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकको रूपमा प्रसिद्ध रहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको हाे ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्य श्री पुरुपोत्तम बस्नेत र प्रा.डा. उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

मा प्रकाशित