नेतृ शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं, ०४ माघ, २०७९ । निकासखबर संवाददाता

नेकपा (माओवादी केन्द्र) बाट नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पद बहाली गरेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’ सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुवात गरेकी छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता रहने उल्लेख गर्दै देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने मन्त्री शर्माको भनाइ थियो । पदबहालपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री शर्माले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताइन् ।

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य शर्माले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् । विसं २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रूपमा निर्वाचित मन्त्री शर्मा २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।
बाबु गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट विसं २०२६ असोज ९ गते दाङको घोराहीमा जन्मिएकी शर्माले विसं २०४२ देखि राजनीतिक यात्रा थालनी गरेकी थिइन् । विसं ०४२÷४३ देखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिएकी उनी २०४८ मा अखिलको जिल्ला उपाध्यक्ष, विसं २०५० मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को दाङ अध्यक्ष हुँदै २०५१ मा केन्द्रीय सदस्य, २०५३ वाईसीएलको केन्द्रीय सदस्य, २०५७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारीमा रहेर कार्यसम्पादन गरेकी पात्र हुन् ।

नवननियुक्त सञ्चारमन्त्री शर्माले विसं २०५७ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्यका रुपमा काठमाडौं उपत्यका उपब्यूरोको इन्चार्जको भूमिका निर्वाह गर्दै गर्दा विसं २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा उनका श्रीमान कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परी नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा यातना समेत भोगेकी थिइन् ।
युद्धविरामसँगै सरकार र माओवादीबीच वार्ताका थालनी भएपछि विसंं २०५९ चैत ३१ मा दुवै जना मुक्त भए र पार्टीमा सक्रिय भूमिकामा फर्किएका हुन् । विसं २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी शर्मा माओवादीभित्र क्षमतावान नेतृका रुपमा स्थापित छन् ।

सञ्चारमन्त्री शर्मा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित बन्ने एक्ली महिला उम्मेदवार समेत हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने मन्त्री शर्मा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि राख्छिन् ।

समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी शर्माले पार्टीभित्र विद्यार्थी हुँदै युवा तथा महिला संगठनमा लामो समय जिम्मेवारी सम्हाल्दै राज्यबाट संविधानसभा पदक प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारमा शर्मालगायत सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्यन एवं अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा तथा सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री तोकिएका छन् ।

मा प्रकाशित