वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वर्षामान पुन विजयी

काठमाडाैं, ६ मंसिर, २०७९ । निकासखबर संवाददाता

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।
यसअघि पनि विसं २०७४ को निर्वाचनमा समेत उनी सोही जिल्लाबाट निर्वाचित भएका थिए । संसदीय राजनीतिमा उनको यो तेस्रो पटकको जित हो । विसं २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा रोल्पाली नेता पुनले ललितपुर क्षेत्र नं १ बाट जित हासिल गरेका थिए ।

पूर्वअर्थमन्त्री समेत रहेका नेता पुन सत्तारुढ गठबन्धनकोतर्फबाट साझा उम्मेदवारका रुपमा ४१ हजार ७ सय १४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त पाएका थिए । २५ हजार २ सय २९ मतको अग्रता प्राप्त गर्दै विजयी बनेको पूर्वमन्त्री पुनका अर्का प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारी लीला रावलले २ हजार ५ सय ५६ मत प्राप्त गरेका थिए ।

सोही जिल्लाबाट राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८ सय ३, नेपाल मजदुर किसान पार्टीका नातीभाई ह्योम्बाले १ सय ५२ मत पाएका थिए । विगतमा एउटै मोर्चामा रहेका कार्य गरेको विजयी नेता पुन र प्रतिस्पर्धी बुढामगर दसवर्षे द्वन्द्वकालमा एउटै पार्टीमा आबद्ध मात्रै होइन पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर उनकै मातहतको कमाण्डरको भूमिका रहेका थिए ।

पछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताबाट बनेको नेकपालाई सर्वोच्च अदालतले पूर्ववत अवस्थामै फर्काइदिएपछि बुढामगर एमालेमै बसेका थिए । भरखरै सम्पन्न निर्वाचनमा पूर्वसहकर्मीबीच नै छुट्टाछुट्टै दलबाट प्रतिस्पर्धा हुने भएपछि निकै चर्चा चलेको थियो ।  कूल मतदाता संख्या एक लाख ४५ हजार ४ सय ७१ रहेको रोल्पामा मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६१ हजार ७ सय १० मत खसेको र कूल मतमध्ये ५ हजार ३ सय ११ मत बदर भएको थियो । रोल्पामा प्रदेशसभातर्फ (१) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भएका थिए भने (२) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भएका थिए ।

फराकिलो मतान्तरले विजयी बन्न सफल नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको थियो । प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका उनले २०४९ मा नेपाल ल क्याम्पसबाट बीएलसम्मको अध्ययन पूरा गरेका थिए ।  पञ्चायकालमै विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध उनी विसं २०५२ देखि नै तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धमा सहभागी भएर काठमाडौं उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य जिम्मेवारीमा रहेका थिए ।

मा प्रकाशित