पशुपति धर्मशाला फिर्ता : आलेद्वारा मन्त्रीस्तरीय निर्णयबाट ‘बतास’ सँगको सम्झौता भंग

निकासखबर संवाददाता

सांस्कृतिक एवं नेपाल–भारत द्विपक्षीय मान्यता तथा सहमतिविपरीत ‘तारे होटल’ सञ्चालन गर्न तत्कालीन सरकारले विवादास्पद व्यापारिक समूहलाई ठेक्कामा दिएको तिलगंगास्थित पशुपति धर्मशाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता लिएका छन् । मन्त्रीस्तरीय निर्णयबाट मन्त्री आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिइएको बुधबार बताएका हुन् ।

‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौं’, मन्त्री आलेले भनेका छन्– ‘अब धर्मशाला बतास समूहले सञ्चालन गर्दैन ।’ धर्मशाला भाडामा दिँदा मिलेमतो भएको उल्लेख गर्दै पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले उक्त सम्झौता रद्द गरी धर्मशाला फिर्ता लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन केही दिनअघि मन्त्री आलेलाई बुझाएको थियो ।

विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशालामा तारे होटल सञ्चालन गरिएको थियो । विकास कोषले निर्माण गरेको सो धर्मशाला बतास समूहले सेवाग्राहीसँग महँगो मूल्यमा लिँदै होटलका रुपमा सञ्चालन गर्दै आएको थियो ।

मन्त्री आलेले केही दिनअघि सो धर्मशालाको अनुगमन समेत गरेका थिए । धर्मशाला निर्माण गर्दा र सम्झौता भएवमोजिम शय्याको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा नियमविपरीत अन्य विभिन्न कार्यालयहरू समेत राखेको, पशुपति क्षेत्र विकास कोषको स्वीकृतिविना धर्मशालामा विभिन्न संरचनाहरु निर्माण गरेको जस्ता बदमासी भएको पाइएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित