रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?

निकासखबर संवाददाता

मकवानपुर | मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो ।

नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ ।

त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५ कक्षासम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको नगर प्रमुख विष्टले बताए । यता ६ देखि ८ कक्षाको हकमा भने पाठ्यक्रम मात्र निर्माण गरिएको उनले बताए ।

‘हामी पहिलो चरणमा १ देखि ५ कक्षा सम्म स्थानीय पाठेक्रम लागु गर्छौं । त्यसै अनुसार हामीले पाठ्यपुस्तक छपाइको कामलाई अन्तिम रुप दिइरहेका छौं,’ उनले भने, ‘हाम्रो भाषा सरल र मिठो तथा बालबालिकालाई उपयोगी हुने खालको हुनुपर्ने भएकाले अहिले त्यसैको काम चलिरहेको छ ।’

अब केही दिनभित्रै १ देखि ५ कक्षासम्मको पुस्तक छपाइको काम सुरु हुने उनको भनाइ छ । ६ देखि ८ कक्षाको हकमा भने दोस्रो चरणमा लागु गर्ने योजना रहेको उनले सुनाए ।

थाहा आन्दोलन र उद्देश्य

मेयर विष्टका अनुसार वि.सं. १९९० पौष २६ गते पालुङ्गको घर्तीखोलामा जन्मिएका दार्शनिक रुपचन्द्र विष्ट र उनको दर्शनलाई जीवन्त बनाउन तथा संरक्षणका लागि पाठ्यक्रम तयार पारिएको हो । रुपचन्द्र विष्ट र थाहा अभियानका बारेमा अध्ययन अनुसन्धानका लागि आगामी दिनमा सो पाठ्यक्रम महत्वपूर्ण दस्तावेज हुने उनले बताए ।

‘रुपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनवादी नेता हुन्,’ नगरप्रमुख विष्ट भन्छन्, ‘उनलाई रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने गरेको छ ।’

मेयर विष्टका अनुसार कम्युनिस्ट विद्यार्थी राजनीतिमा तथा किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहेका रुपचन्द्र विष्ट पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च हुँदै २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए भने ०२९÷३० सालबाट रूपचन्द्र विष्टले आफ्ना सहकर्मीको सहयोगमा चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखेर थाहा आन्दोलनको सुरुवात गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित