कार दुर्घटनामा चालक सहित डा. सन्जुकाे निधन

निकासखबर संवाददाता

काठमाडाैं । काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । घाइते भएकी डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा ज्यान गुमाएकी डाक्टर  खड्काको शव सुर्खेत लगिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सञ्जुको शव गएराति गृह जिल्ला सुर्खेत पुर्‍याइएको जानकारी दिए ।

सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन् । वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा उनीहरूले यसपालि नयाँ घर बनाएका थिए । सञ्जु एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौं फर्कीएकी थिइन् । मंगलबार काठमाडौंबाट घर आउँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको थियो।

मंगलबार साँझ ५ बजे उनी सवार बा १३ च ८२५३ नम्बरको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका-८ मगुवा खोला नजिकै मे १ ख ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी सञ्जुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । चालक आँपिपल, गोरखाका ३७ बर्षीय सुवास अधिकारीको शव भने अस्पतालमै रहेको डिएसपी तिवारीले जानकारी दिए।

दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन् । उनीहरू खतरामुक्त रहेको डिएसपी तिवारीले जानकारी दिए । डम्बर उपप्राधनमन्त्री पूर्णबहादुर खड्काका माइला भाइ हुन् । उनी हप्ता दिन अगाडि मात्रै ७२औं स्वास्थ्य सम्मेलनमा भाग लिन बिदेश गएका थिए।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिए।

मा प्रकाशित