म्याग्दी । समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन् ।
विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन् । जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किरोको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए ।
जिल्लाको लेकदेखि बेँसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार आठ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लालगायत ठाउँ जाने गर्छ ।
“म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किरोको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशङ्का छ”, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए । उनले खानाबाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको जानकारी दिए ।
जिल्लामा मकै खेती कूल ६० प्रतिशत खेतीयोग्य भू–भागमा गरिएको कृषि ज्ञान केन्द्रको एक तथ्याङ्कले देखाएको छ । म्याग्दीको खेतीयोग्य भू–भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ ।
जिल्लाको एक हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना–१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण–१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ ।
त्यसैगरी, उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो–१ मकै कृषकले नरुचाएको कृषि प्राविधिकको भनाइ छ । जिल्लामा उत्पादन भएको कूल मकै खेतीको ३७ हजार आठ सय १७ मेट्रिकटनमध्ये २२ हजार सात सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ ।
कृषकहरूले समयमै मल र बीउ प्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कंदै जाँदा रोग किरोको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ । म्याग्दीमा मकै माघ–फागुनमा लगाई असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ । हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ ।