ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर, २७ भदौ २०८० ।

उदयपुरमा बुधबार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै थिए ।

सोही क्रममा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना ४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर उपचार सुरू गर्नुअघि नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रक इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

मा प्रकाशित