उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

निकासखबर संवाददाता

उदयपुर । सरकारी स्वामित्वमा रहेकाे उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ ।

७ करोड ९४ लाख बढी विद्युत महशुल बुझाउन बाँकी देखिएकोले विद्युत लाइन काटिएको नेपाल विद्यूत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीले  बताए ।बीचबिचमा रकम भुक्तानी गर्दै गएपनि अपुरो भुक्तानी गर्ने गरेकोले बाँकी ७ करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी देखिएकाे उनकाे भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समय लाइन काटिने व्यवस्था रहेको छ । तर उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि बक्यौता नबुझाएको कारण विद्युत लाइन काटिएको छ ।

प्रदेश र केन्द्रसँगै समन्वय गरेर विद्युत लाइन काटिएको शाखा प्रमुख खत्रीले बताए  । ट्रक र डेडिकेटट लाइन बाहेकको बक्यौता धेरै भएपछि विद्यूत लाइन काट्न बाध्य भएको उनकाे भनाइ छ । ट्रंक र डेडिकेटेट लाइनको बक्यौता लामो समयदेखि तिर्न बाँकी रहेको उनले बताए  ।

उद्योगले ट्रंक र डेडिकेटट लाइन बापत करिव ४२ करोड ३३ लाख बढी बक्यौता तिर्न बाँकी देखिएको छ ।  उद्योगको विद्युत लाइन काटिएको विषयमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई मोबाइलमा सम्पर्क गर्दा उनले फोन नै उठाएनन् ।  यस विषयमा उद्योग संचालक समितिका अध्यक्ष केशव कुमार बस्नेतलाई बुझदा उनले आफु यस विषयमा अनविज्ञ रहेकोले उद्योग तर्फ जाँदैछु पछि कुरा गर्ने बताए ।

उद्योगले एक महिना अघिदेखि क्लिङकर उत्पादन गरेको छैन भने भएको क्लिङकर एक हप्ता अघि नै सकिएर सिमेन्ट प्याकिङ बन्द रहेको छ ।

मा प्रकाशित