काठमाडौं । बैंकमा लगानीयोग्य रकम पर्याप्त अर्थात् २ खर्बभन्दा बढी रहेको तर उच्च ब्याजदरले ऋणको माग नै नरहेको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिटको दोस्रो सत्र ‘पैसा खोइ रु’ मा बोल्दै राष्ट्र बैंकका गभर्नर तथा बैंकरले यस्तो बताएका हुन् ।
गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा पर्याप्त पैसा जम्मा भइसकेको बताए । ‘५० अर्बको उत्पादनमूलक प्रोजेक्ट योजना लिएर आउने हो भने पनि चिन्ता नगर्नुस्’ उनले भने, ‘हामीसँग स्रोत छ, तर तपाईंहरू (निजी क्षेत्र) को प्रोजेक्ट कार्यान्वयन गर्ने प्रतिबद्धता चाहियो, बैंकलाई अनुकूल प्रोजेक्ट हुनुपर्यो ।’ कार्यक्रममा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले ऋणको माग नै यतिबेला कम रहेको स्पष्ट पारे । एकातिर कर्जाको माग नहुनु र अर्कोतिर ऋण असुलीतर्फ बैंक तथा वित्तीय संस्थाहरू लाग्नुपर्ने अवस्था रहेको सिटौलाले बताए ।
‘कतिपय बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त छ त भनिएको छ तर सीडी रेसियो व्यवस्थापन गर्न नसक्ने अवस्था पनि छ,’ उनले भने । अहिले बैंकहरूले ऋण दिनका लागि बढी सोचविचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘जोसँग पैसा छ, उसले पनि भुक्तानी गरेको छैन, जोसँग छैन उसले भुक्तानी गर्ने प्रश्नै छैन । जसले गर्दा ह्वातह्वाती ऋण दिन सकिएको छैन,’ सिटौलाले भने । यति बेला बैंकको साँवा तथा ब्याज सहज रूपमा उठ्न नसकेको र बैंकहरूको सम्पत्ति गुणस्तर खस्किएको उनले बताए ।
व्यवसायीले भने ब्याजदर नै उच्च भएकाले ऋण लिएर नयाँ व्यवसाय सुरु गर्ने र भइरहेको व्यवसाय थप विस्तार गर्ने अवस्था नरहेको बताएका छन् । जग्गा र सेयर बजारमा समेत पैसा फसेकाले अर्थतन्त्रमा समस्या परिरहेको उनीहरूको दाबी छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले उच्च ब्याजदरले उद्योग व्यवसायको लागत बढेको र थप ऋण लिन सक्ने अवस्था नरहेको उल्लेख गरे । ‘केही न केही पैसा जग्गा र सेयरमा गएकै हो । एक दुई जनाले मात्र होइन । धेरैले लगानी गरेका छन्,’ उनले भने, ‘यसमा ऋणीको गल्ती भन्नु हुन्छ कि, बैंकको वा प्रणालीको रु’
व्यवसायका लागि लिइएको ऋण जग्गा र सेयरमा जानु प्रणालीकै कमजोरी रहेको उनको ठम्याइ छ । जग्गाको कारोबार नै नभएको र सेयर बेच्ने अवस्थासमेत नभएकाले पनि बैंकको साँवाब्याज तिर्न केही समस्या परेको अग्रवालले बताए । अहिले जग्गाको कारोबार नै नभएको र सेयर बेच्ने अवस्थासमेत नभएकाले पनि बैंकको साँवाब्याज तिर्न केही समस्या परेको अग्रवालले बताए । कतिपय सेयरको मूल्य न्यून रहेको र जग्गाको कारोबार नै हुन नसक्दा पनि बैंकको ऋण भुक्तानी गर्न नसकिएको उनले स्विकारे ।
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बैंकको उच्च ब्याजदरले व्यवसायीको मनोबल घटेको बताइन् । ‘६ महिनायता अर्थतन्त्रमा त थोरै सुधार भएको छ, तर उद्योग व्यवसाय खस्केर धरापमा परेको छ । उद्योगी व्यवसायीहरूको मनोबल घटेको छ,’ उनले भनिन्, ‘यस्तो बेलामा बैंकले ऋण लिन आऊ त भन्छन्, ब्याजदर उच्च छ, त्यसकारण ऋण लिन सक्ने अवस्था नै छैन ।’ बैंकको कर्जाको ब्याजदर एकल अंकमा हुनुपर्ने उनले बताइन् । राष्ट्र बैंकको चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाले पनि ऋण लिन सक्ने अवस्था नरहेको उनले बताइन् । अहिलेकै अवस्थामा ऋण तिर्न नसकेका व्यवसायीलाई टिकाउने नीति ल्याइदिन उनले राष्ट्र बैंकसमक्ष आग्रह गरिन् ।
गभर्नर अधिकारीले राष्ट्र बैंकका नीतिका कारण नै वित्तीय प्रणाली सुरक्षित रहेको बताउँदै वित्तीय प्रणाली जोखिममा राखेर व्यवसायीका लागि सहजीकरण गर्न नसकिने बताए । तर राष्ट्र बैंकले हेर्न सक्ने ठाउँमा भने सक्दो लचकता अपनाउने उनले बताए । ‘सिस्टमलाई जोखिममा राख्ने विषयलाई छुँदैनौं, ती अर्थतन्त्रका ब्याकबोन हुन्,’ उनले भने, ‘बजेट आउँदै छ, त्यसकै आधारमा मौद्रिक नीति ल्याउँछौं, त्यतिबेला जहाँ स्पेस छ, त्यहाँ हामी चलाउन सक्छौं ।’ साना व्यवसायलाई प्रवर्द्धन गर्ने उनले प्रतिबद्धता जनाए । ‘साना तथा मझौला व्यवसायमा सहकारीले लगानी गरिरहेका छन्,’ उनले भने ‘त्यहाँभित्र पनि विश्वास जगाउन हामी सुरक्षित हुनुपर्छ ।’ निजी क्षेत्रको पैसा नउठ्ने समस्याका लागि व्यवसायीबाटै आफूहरूले सुझाव चाहेको उनले बताए ।