मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा किसानको प्रदर्शन

निकासखबर संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माईतीघरमा प्रदर्शन गरेका छन् । बुधवार काठमाडौंको माईतीघर मण्डलामा रासायनिक मलखादको  मस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए । उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरु समस्यामा परेको बताए । किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको उनको भनाइ छ ।  यो आन्दोलन सातै प्रदेशमा गर्ने उनले बताए ।

त्यस्तै प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले नेपाल कृषिप्रधान देश भएपनि किसानहरुले किसान भएर बाच्न सक्ने अवस्था नभएको बताइन् । उनले नेपाली किसानलाई सरकारले समयमा नै मल,बीउ समेत उपलब्ध गराउन नसकेको बताउँदै किसानले उत्पादन गरेका वस्तुहरु सहज रुपमा बजार पाउने अवस्था नभएको भन्दै सरकारले उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिदिनुपर्ने बताइन् ।

किसान संगठनहरूको लघुवित्त, मीटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नुपर्ने माग राखेका छन् ।

यस्तै उनीहरुले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनमा माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघको सहभागी रहेका छन् ।

मा प्रकाशित