ग्राहकसँग करोडौँ पैसा सापटी लिएर शाखा प्रुमुख सम्पर्क विहीन

निकासखबर संवाददाता

खोटाङ । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा सम्पर्क विहीन भएका छन् । उनी ग्राहकसँग करोडौँ पैसा सापटी लिएर सम्पर्क विहीन भएका हुन् ।

उनले प्रभु बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर एक महिना अघिदेखि खतिवडा फरार भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् ।

माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी लिएको खुलेको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्माले बताए ।

खतिवडाले बिश्वकर्माबाट केही दिनमा फिर्ता गर्नेगरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको ६ लाख सापटी लिएका थिए । उनले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्ने गरेको बिश्वकर्माले बताए । खतिवडा सम्पर्क विहिन बनेपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, बिराटनगरसम्म पुगेर कुरा राखेको बिश्वकर्मा बताउँछन् । उनले चिनजानका व्यक्तिबाट करोड बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको छ । खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मीसँग पनि पैसा सापटी लिएको बताइएको छ ।

सम्पर्क गर्दा खतिवडाको मोबाइल नम्बर अफ छ । उनले बैंकको रकम भने छोएका छैनन् । ब्राञ्च मेनेजर खतिवडा सम्पर्क विहिन बनेको केही समयपछि प्रभु बैंकले सो स्थानमा दिपक खत्रीलाई पठाएको छ ।

यद्यपी, खतिवडा सम्पर्क विहिन बनेको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा पत्रकारलाई कोशी प्रदेश कार्यालयमा सम्पर्क भनियो । प्रदेश कार्यालयका प्रमुख बद्री कट्वालको फोन उठेन ।

मा प्रकाशित