हामीले बजारबाट नेपाली रुपियाँ तिरेर किनिरहेका अधिकांश वस्तुहरु बिदेशी मुद्रा तिरेर आयात गरिएको हो । चामल, दाल, नून, तेल, खुर्सानी, जिरा, मरिच, साइकल, मोटरसाइकल, कार, हवाइजहाज, रेड लेभल, ब्ल्याक लेभल, ब्लु लेभल, मोबाइल, घडी, क्यामेरा, कम्प्युटर, सुन, चाँदी, हिरा जवाहरात आदि कुरा बिदेशी मुद्रा तिरेर आयात गरिएको हुन्छ । तर देशमा भित्रिने बिदेशी मुद्राको स्रोत सिमित छ । यसको मुख्य स्रोत भनेको हाम्रा युवा युवतीहरुले खाडिको पचपन्न डिग्री सेल्सियस को तातो बालुवामा पाइताला पोलेर कमाएर स्वदेशमा पठाएको बिदेशी मुद्रा नै प्रमुख हो ।
देश श्रीलङ्का वा पाकिस्तान जस्तो बन्ने भनेको यस्तो बहुमूल्य बिदेशी मुद्रा खर्च गर्दा जनताले बिचार नपुर्याउनाले र सरकारले कडाइ नगर्नाले हो । देशलाई श्रीलङ्का वा पाकिस्तान हुनबाट जोगाउन बिदेशी मुद्रा मितव्ययी तरिकाले खर्च गर्न पर्छ भनेर जान्न अर्थशास्त्रमा विद्यावारिधि गरिरहन पर्दैन । सामान्य मानिसले पनि बुझ्न सकिने कुरो हो ।
एउटा भ्रष्टले, एउटा चोरले, एउटा डाँकुले लुटबाट करोडौँ कमाउँछ । तर यो कमाई बिदेशी मुद्रामा कमाएको हुन्न । सरकारको बिदेशी मुद्रा भण्डार बाट आयात गरिएका महँगा गाडि, महँगा सामानहरु यिनीहरुले नै किन्छन् । अर्थात् आयातमा खर्च हुने बिदेशी मुद्रा को ठूलो हिस्सा यिनै भ्रष्ट, चोर र डाँका हरुले उपभोग गर्ने सामानहरुमा खर्च भएर जान्छ । यिनीहरु नै राष्ट्र बैंकबाट सटही सुविधा लिएर बिदेश भ्रमणमा जान्छन् । अर्को शब्दमा भन्ने हो भने अबैधरुपमा कमाएको यस्तो रकमबाट यी मानिसहरुले बिदेशी मुद्रा को दुरुपयोग गरिरहेका हुन्छन् ।
सरकारले बैध आयस्रोत देखाउन नसक्नेहरुको सम्पती जफत गरेर कारवाही गर्नुपर्ने हो । तर सकिरहेको छैन । परिणामस्वरूप समाजमा शिर निहुराएर हिड्न पर्ने चोर डाँका र भ्रष्टहरु ठाडो शिर गरेर हिडिरहेको देखिन्छ ।
बिदेशी मुद्रा जोगाउन सरकारले निम्न काम त गर्न सकिन्छ होला नी !
१) दश लाख भन्दा बढीको कुनै पनि खरिद गर्दा अनिवार्य रुपमा आयस्रोत देखाउन पर्ने । वैध आयस्रोत देखाउन नसक्नेले यस्ता महंगा सामान खरिद गर्न नपाउने । अवैध आयस्रोत भएकाहरुलाई सामान बिक्री गरेको पाइएमा बेच्ने मानिसलाई पनि जिम्मेवार बनाउने ।
२) जमीन खरिद गर्दा, घर बनाउँदा मालपोत कार्यालयले, स्थानीय निकायले अनिवार्य रुपमा आयस्रोत खोज्ने । आयस्रोत नभएकाले जमिन खरिद गर्न वा घर बनाउन नपाउने ।
३) बिदेश भ्रमणमा जाँदा होस् वा निजी खर्चमा बिदेशमा पढ्न जाँदा होस् सरकारले उपलब्ध गराउने बिदेशी मुद्राको सटही सुविधा दिँदा अनिवार्य रुपमा आयस्रोतको खोजी गर्ने ।
४) आयस्रोत देखाएपछि आयकर विभागले आय अनुसारको आयकर तिरेको नतिरेको हेर्ने ।
५) छिमेकी मित्रराष्ट्र भारतमा सुन किन्न जाँदा PAN नम्बर दिनु पर्छ । प्यानको माध्यमबाट आयकर विभागले सुन चाँदिको कारोवार माथी निगरानी राखिरहेको हुन्छ । सुनचाँदी किन्दा अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नु पर्ने ।
जसरी भ्रष्टाचार को अनुसन्धान गर्दा अख्तियारले आयस्रोतको खोजी गर्छ त्यसरी नै ठूलो कारोवार हुने हरेक ठाउँमा आयस्रोतको खोजी गर्ने चलन चलाउने हो भने ठूलो मात्रामा बिदेशी मुद्राको बचत हुन्थ्यो ।
बैंक च्यानल बाहिरबाट आएको आम्दानीको स्रोत के हो? कहाँबाट आएको हो? आदि कुराहरु कडाइसाथ जाँच गर्ने हो भने पनि बिदेशी मुद्राको बचत हुन सक्छ । किनभने हामी कहाँ बिदेश भ्रमणमा जाने, महँगा महँगा सामान किन्ने अधिकांश मानिसहरुको आयस्रोत अवैध छ ।
आज जति खाए पनि भोली बिहान यदि मलमुत्र त्याग गर्न पाएन भने मानिस अजिर्ण भएर मर्छ । चोर डाँका भ्रष्टहरुले खर्च गर्ने ठाउँको निगरानी राखेर उनीहरुलाई अजिर्ण रोग लगाउने यो तरिका हजुरहरुलाई कस्तो लाग्यो ?
अन्त्यमा,
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था Financial Action Task Force(FATF) अन्तर्गतको Asia/Pacific Group of Money Laundering समूहले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा धेरै कमजोर भएको भनेर नेपाल लाई ‘ग्रे लिष्ट’ अथवा नकारात्मक सूचीमा राख्नुपर्ने प्रतिवेदन दिएछ । यस्तो ‘ग्रे लिष्ट’मा परेको कुनै पनि देशलाई निगरानी मा राखिन्छ र आवश्यक सुधार भएन भने ‘ब्ल्याक लिष्ट’ मा पनि पर्न सकिन्छ ।
यस्तो कालो सूचीमा परेको देशलाई विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क लगायतका दातृ निकायहरूले ऋण र अनुदान सहयोग बन्द गर्छन् । आफूसँग भएको बिदेशी मुद्रा जथाभावी खर्च गर्ने अनि विदेशी सहयोग पनि बन्द हुने भएपछिको अवस्था कस्तो हुने होला ? बेलैमा सुधार आवश्यक देखियो है !