काठमाडाैं, १७ मंसिर, २०८१ ।
सामान्यतयाः हाम्रो समाजमा विज्ञापनलाई कुनै उत्पादित वस्तु वा सेवाको प्रवद्र्धनका लागि गरिएको सामान्य प्रचारप्रसारको रूपमा मात्र बुझ्ने गरिन्छ । नेपाली विज्ञापन बजारको बिगतको दायरा एवं अव्यवस्थित सरकारी नीतिका कारण यस्तो आम बुझाई बन्न गएको हो । पछिल्लो चरण विज्ञापनको बजार फराकिलो हुँदै जाँदा समाजमा यसका प्रभावहरू पनि फराकिलो हुँदै जान थालेको छ । सरकारी स्तरमा पनि यो क्षेत्रको विकास, प्रवद्र्धन र नियमनका प्रयत्नहरू सुरु भएपछि यसबारे नयाँ बहसहरू उठन सुरु गरेको हो । सूचनाप्रविधिको तीव्रतम विकासले आमसञ्चारको क्षेत्रमा आएको वदलावका कारण विज्ञापनको पहुँच र सामाजिक प्रभाव कल्पनै गर्न नसकिने गरी बिस्तारित भइरहेको छ । विज्ञापनकै कारण संसारको जुनसुकै स्थानमा उत्पादन गरिएको गुणस्तरीय बस्तु एउटा सचेत उपभोक्ताले जुनसुकै ठाउँमा बसेर सहजै जानकारी पाउने र यसको उपभोग गर्नसक्ने वातावरण बनेको छ । कयौँ मानवीय सेवाहरू यसकै माध्यमबाट प्राप्त भइरहेको छ । तर, ठीकढंगले विज्ञापनको सिर्जना एवं प्रचारप्रसार हुननसक्दा यसले समाजमा दीर्घकालिन नकरात्मक प्रभाव पार्ने गरेको छ ।
भ्रमपूर्ण विज्ञापनको दुष्प्रभाव
सूचना प्रविधिको तीव्रतम विकाससँगै विज्ञापनका नयाँ–नयाँ परिभाषा एवं नयाँ–नयाँ आयामहरू पनि थपिँदै जान थालेका छन् । सूचना प्रविधिले विकास गरेको विश्वव्यापी राजमार्गमा यसका बहुआयामिक प्रभावहरू देखिन थालेका छन् । सूचना प्रविधिको विकासले सारा संसारलाई प्रतिस्प्रर्धात्मक साझा बजारको रूपमा बदलेको छ । युरोप, अमेरिका र अफ्रिकाजस्तो उच्च प्रविधियुक्त उत्पादनहरूले कम विकसित र अल्प विकसित राष्ट्रहरूलाई आफ्नो बजार विस्तारको क्षेत्र बनाइरहेको छ । विज्ञापनमार्फत बजार विस्तारको प्रतिस्पर्धामा रहेका बहुराष्ट्रिय कम्पनीहरूका यस्ता उत्पादनहरूले कमजोर राष्ट्रका उत्पादनहरूलाई प्रचारप्रसारको माध्यमबाट नियन्त्रण गरिरहेको छ । यही एउटा त्यस्तो माध्यम हो, जसको प्रयोगद्वारा शक्तिशाली राष्ट्रहरूले संसारभरि आफ्नो आर्थिक वर्चश्व कायम गरिरहेका छन् ।
आर्थिक वर्चश्वको यही जमिनमा टेकेर ठूला र शक्तिशाली राष्ट्रहरूले साना र कमजोर राष्ट्रहरूको समाजमा आफ्नो वर्चश्वलाई निरन्तरता दिन साना राष्ट्रको समाजमा अनेकौं जराहरू निर्माण गर्ने गर्दछन् । अर्को शब्दमा भन्ने हो भने प्रभुत्वशाली राष्ट्रहरूले साना र कमजोर राष्ट्रको समाजभित्र पसेर आफू अनुकूलको सामाजिक मनोविज्ञानहरू पैदा गरिरहेका हुन्छन् । प्रचारप्रसारको माध्यमबाट उसले त्यस्तो समाजका नागरिकहरूको खानपान र जीवनशैलीलाई समेत प्रभावित पारिरहेको हुन्छ । उदाहरणका लागि ‘चिसो भनेकै कोकाकोला’ भन्ने मान्यतालाई उसले हिमालको चौरी गोठसम्म छिराउन सफल हुनु हो । मानिसका जीवनशैलीभित्र प्रवेश गरेपछि सामाजिक जीवनको एउटा हिस्साको रूपमा यो विकसित हुँदै जान्छ । पछि गएर यसले संस्कृतिको रूप लिन सक्छ । यही संस्कृतिले आधुनिकताको जामा पहिरिएर साना राष्ट्रहरूको राष्ट्रियताको एउटा प्रमुख तत्व संस्कृतिको विस्थापन गरिदिन्छ र थाहा नै नपाई उसले आफ्नो राष्ट्रियता कमजोर बनाउन पुग्छ । त्यसरी विज्ञापन बजारमार्फत ठूला राष्ट्रहरूले आफ्नो सांस्कृतिक पहिचान निर्माण गर्छन र गरिरहेका छन् ।
सरसर्ती हेर्दा विज्ञापन कर्म स्वतः आर्थिक क्रियाकलाप र पुँजी परिचालनसँग मात्र जोडिन्छ । तथापि यसको जोडिने प्रमुख राजमार्ग भनेको आम सञ्चार माध्यम हो । सञ्चारको यही राजमार्गबाट उसले आफ्नो जादूमय प्रभाव संसारभरि विस्तार गरिरहेको छ । पुँजीवादी राष्ट्रहरूले ठूला बहुराष्ट्रिय कम्पनीहरूको विज्ञापनहरूमार्फत ठूला कर्पोरेट मिडियाहरूलाई छद्य रूपमा आफ्नो नियन्त्रणमा राखेका हुन्छन् । कतिपय अवस्थामा देखिने नै गरी प्रत्यक्ष
लगानी गरिरहेका पनि देखिन्छन् । त्यस्ता माध्यमहरूमा उनीहरूले आफू अनुकूलको एजेन्डाहरू उठाउने गर्छन् । यिनै नियन्त्रित आम सञ्चारको माध्यममार्फत कमजोर राष्ट्रहरूभित्र उनीहरूले आफ्नो वैचारिक वर्चश्व पनि थोपर्ने प्रयत्न गर्दछन् । छद्य रूपमा नियन्त्रित माध्यमहरूमा सके एजेन्डामा, र नसके तिनले पस्कने विषयवस्तुहरूमाथि हस्तक्षेप गरिरहेका हुन्छन् । योे सँगसँगै उनीहरू प्रचारप्रसार गरिने सामग्रीको विषयवस्तुलाई पनि आफ्नो वैचारिक वर्चश्व कायम गर्ने हतियारको रूपमा प्रयोग गर्न खोज्छन् । अर्थात् विज्ञापन सामग्रीको उत्पादन र सिर्जना कर्ममाथि पनि उनीहरूले आफ्नो प्रभाव पारिरहेका हुन्छन् । समाजका कतिपय सेवामूलक ढंगले प्रचारित÷प्रसारित सामग्रीहरूमा समेत हामी त्यस्ता विषयहरू प्रष्टसँग पहिचान गर्न सक्छौं । व्यवसायिक उत्पादनका प्रचार सागग्रीहरूमा भेटिने काल्पनिक, उपयोगवादी एवं आदर्शवादी विषयवस्तुहरू वर्चश्ववादी क्रियाकलापका उपजहरू हुन् । विज्ञापन आफैंमा संवेदनशील सिर्जना कर्म हो । यसले समाजको सबै तह र तप्कालाई तरंगित पार्ने गर्दछ । त्यसैले यस्ता सामग्रीहरू निर्माण गर्दा समाज र मानवीय हितलाई केन्द्रमा राखेर गम्भीरतापूर्वक सोच्नु पर्दछ ।
यसरी विज्ञापन कर्म कुनै उत्पादित वस्तुको जानकारी वा सूचना प्रवाह गर्नु मात्र नभएर सामाजिक ज्ञानको प्रवाह गर्नु पनि हो भनेर बुझ्नु जरुरी छ । यसले एकसाथ आर्थिक गतिविधि, संस्कृति निर्माण, सामाजिक मनोविज्ञानको जन्म र सही विचारको निरूपण गर्ने बहुआयामिक भूमिका निर्वाह गर्दछ । आजको भूमण्डलीकृत दुनियाँमा विज्ञापन प्रवाह समाजलाई सकारात्मक भूमिका खेल्ने एउटा सशक्त औजारको रूपमा स्थापित हुँदै गएको छ । नेपालमा पनि पछिल्लो चरण यसबारे बहसहरू चल्न थालेका छन् । यसका बहुआयामिक परिणामहरूबारे अहिलेदेखि नै सचेततापूर्वक लाग्न सकेमात्र यो क्षेत्रको प्रवद्र्धन एवं हाम्रो समाजले सकारात्मक परिणाम प्राप्त गर्नेछ ।