१४ निर्माण व्यवसायीलाई कालाे सुचीमा राख्ने चेतावनी

निकासखबर संवाददाता

काठमाडाैं ।  ठेक्का ओगटेर निर्धारित समयमा काम गर्न नसकेका १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले सात दिने स्पष्टीकरण सोधेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नगर्ने निर्माण व्यवसायीलाई सात दिनको समय तोकेर लिखित स्पष्टीकरण मागेको हो ।

अन्यथा कालोसूचीमा राख्ने कार्यालयको चेतावनी समेत दिएकाे छ ।  स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा अहमद हुसेन कन्स्ट्रक्सन, गुप्ता निर्माण सेवा, केपी कन्स्ट्रक्सन, ओम शान्ति निर्माण सेवा, गीताञ्जली निर्माण सेवा, सिंह कन्स्ट्रक्सन, खुशी निर्माण जेभी, कमोद कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन हुन् ।

त्यस्तै, सम्बुद्ध सप्लायर्स, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, कार्की किचेन, सर्जिकेम डिस्ट्रिब्युटर्स, सुरज जनरल अर्डर सप्लायर्स र फेव नेपाललाई पनि कार्यालयले स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको सूचनामा, ‘उक्त निर्माण व्यवसायीलाई यसअघि पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएकाले थप सात दिनको समयावधि दिइएको’ भनिएको छ ।

तोकिएको समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए ती निर्माण व्यवसायी कम्पनीलाई कानूनबमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने कार्यालयको चेतावनी छ ।

मा प्रकाशित