जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेशन म्यानेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैलाई पत्यार लागेको छैन, तर सत्य हो उहाँ रहनुभएन भन्नु परेको छ । १५ दिन अगाडि अफिसमा सँगै चिया खाएको तर अर्को दिन ब्रेन हेम्रेज भएको पीडादायी खबर मित्र दोङको श्रीमती चाादनी मेडमले सुनाउँदा पनि पत्याउन गाह्रो भएको थियो किनकि अघिल्लो दिन जनता टेलिभिजन नजिकै कर्नरमा चिया खाँदासम्म कुनै संकेत पनि थिएन ।
बिहान घरमा खाने बेला भयो खाना पस्किँदै गर म बाथरुम गएर आउँछु भनेर बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेटसम्म ननिस्किएपछि चाँदनी मेडम बाथरुमको ढोका ढकढक्याउन जानुभयो, तर्सिएलान् भनेर ढिलोढिलो गरी ढोका ढक्ढकाउँदै गर्दा पनि रेस्पोन्स नभए पछि ढोका निकै ढकढक्यानु पर्यो । दीपेन्द्रले पटक्कै रेस्पोन्स गर्नुभएन अनि ढोका फोरियो । दीपेन्द्र ढोका बाहिर निस्किने बेला ढोका खोल्न नसकेर मोवाइल गर्न खोज्दा खोज्दै थचक्क बस्न पुग्नु भएछ । बाथरुमको एक साइडमा कक्रक्क परेर बसेको जस्तो पुरै बेहोस अबस्थामा । शरीर पछारिएको पनि छैन । मोबाइल पनि केही नभएको किनकि गाह्रो भएर परिवारलाई मोवाइल गर्न खोज्दा खोज्दै नसकेको अवस्था जस्तो देखिएको चाँदनी मेडमको भनाइ थियो ।
बेहोस अवस्थामा रहनुभएका पत्रकार दोङलाई दीर्घायू अस्पताल हुँदै मेडिसिटी लगियो र १४ दिन उपचार गरियो, चिकित्सकले कहिले रेस्पोन्स गर्न थालेको बताउने त कहिले केही भन्न सकिन्न भन्दै समय बित्यो । हामीले चिकित्सकलाई पनि पटकपटक भेट्यौँ, चाँदनी मेडमले पनि वास्तविक कुरा बताइदिनुस् पनि भन्नुभयो तर चिकित्सकले केही भन्न सकिन्न रोग खतरा हो भनी नै रहे, आखिर शुरुकै दिन ब्रेन डेथ भैसकेको भन्ने कुरा जानकारीमा आएको छ ।
१४ दिनका दिन बिहानसम्म पनि मुटु चल्दैछ भन्दै थियो अस्पताल । एकजना चिकित्सकसँग मोवाइलमा सम्पर्क गर्दा अस्पतालले जे भनेपनि पर्सन्नल्ली भन्नुपर्दा दीपेन्द्रको ब्रेन डेथ भैसकेको छ, अब रिकभर हुँदैन भेण्टिलेटर पाइप निकाल्न भन्नुभए हुन्छ त्यसपछि … । म पनि चाँदनी मेडमले फोन गर्दा बिहानै काभ्रे पुगिसकेको थिएँ, फर्किन केही समय लाग्यो, अफिसबाट अध्यक्ष डा. विजय पौडेल एवं अन्य साथीहरु, चलचित्र पत्रकार साथीहरु, पहिले सिटिजन रेडियोमा सँगै काम गरेका साथीहरु र दोङ परिवार सबै जम्मा भएर अस्पतालबाट प्रक्रिया पुर्याएर निकाल्ने काम भयो । अनि तामाङ संस्कार अनुसार बौद्ध पिपलबोट भित्र तामाङ गुम्बामा मित्र दीपेन्द्रको शव राखिएको छ । लामा गुरुहरुले पाठ गर्ने काम १३ गतेसम्म हुने रहेछ । तीन दिनसम्म मुटु चलेकै हुन्छ भन्ने मान्यताका आधारमा तीन दिनसम्म अन्त्यष्टि नगरिदो रहेछ।
भर्खर ४४ बर्षको लक्का जवानको शरीर बोल्दै नबोल्ने गरी कपडामा बेरिएर अस्पतालबाट निस्किन्छन भन्ने एक रत्ति पनि सोचिएको थिएन । परिवारको असैह्य पीडा, साथीहरु सबै भापविह्रल तर के गर्ने जस्तो पनि सहनुपर्दो रहेछ । चाँदनी मेडम ११ बर्षको छोरालाई भन्नै सकिएको छैन कसरी भन्ने होला भन्दै छट्पटाइरहनु भएको छ ।
दुई दशक अगाडि नै म नेपाल समाचारपत्र दैनिकको समाचार महाशाखाको नेतृत्वदायी जिम्मेवारीमा रहँदा रहँदै नागरिक समाजका अगुवा डा. अर्जुन कार्की, डा. नेत्र तिम्सिना, शर्मिला कार्कीले ब्यबस्थापन हेर्नुभएको सिटीजन रेडियोमा उहााहरुको आग्रहमा हप्ताको केही दिन बिहान कार्यक्रम दृष्टिकोण चलाउने गर्थेँ (हाल म्यानेजमेण्ट परिवर्तन भएपछि सो रेडियोको नाम अन्नपूर्ण भएको छ ) त्यतिखेरदेखि नै दीपेन्द्रसँग राम्रो दोस्ती गाँसिएको थियो । दोङ त्यतिखेरै स्टेशन म्यानेजर । पछि समाचारपत्रमा पनि सँगै भयौँ । अनि विगत दुई बर्ष यतादेखि जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा म समाचार प्रमुख, मित्र दीपेन्द्र ग्रुप एडिटर एवं रेडियो जनताको स्टेशन मेनेजर । हामी अफिसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा निकै घोत्लिन्थ्योै । प्राय अध्यक्षज्यूसँग एक साथ सल्लाह गर्थ्याैँ ।
मित्र दीपेन्द्रलाई चिया निकै मन पर्ने । दिनको जति पटक चिया खान पनि तयार हुने । दैनिक सात–आठ पटक त नभई नहुने । म धेरै चिया नखाने तर साथ दिने । जब चिया खान मन लाग्छ मित्र दीपेन्द्रले ए टंक दाइ म रेडियो (चार तलामाथि)बाट ओर्लिदै छु चिया जाउँ भन्ने । अनि हामी अफिसमै कहिले कर्नरमा जान्थ्यौँ । मैले धेरै पटक नखाए पनि सँगै जाने गर्थ्याै। अर्थात अफिसमा मित्र दीपेन्द्र बिना चिया खाइएन नै भन्दा पनि हुन्छ । कहिले अशेष घिमिरे कहिले माधब कार्की समेत साथमा हुन्थ्यौँ । पछिल्लो समय मित्र दीपेन्द्रसँग जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा बिहानको सिफ्टमा मात्र भेट हुन्थ्यो र पनि दीपेन्द्र बाहिर निस्किने बेला चिया खान जाउँ भनी हाल्नुहुन्थ्यो । (उहाँ ढाइ महिना यतादेखि साँझको सिफ्ट मध्यान्ह दैनिकको कार्यकारी सम्पादक एवं सिइअओको महत्वपूर्ण भूमिकामा पनि हुनुहुन्थ्याे) कामको लोड बढेको कुराले उहाँले केही असहज जस्तो भएको महसुस त गर्नुभएको थियो । फागुनको दोस्रो हप्ता पछि मैले चिया खादै गर्दा धेरै लोड खेप्नुहुँदैन है भन्दा उहाँले ठीक छ सल्लाह गरौला दाइ भन्नुभएको थियो।
यतिसम्म की न्यूज रुममा काम गरिरहेको अबस्थामा दीपेन्द्र अफिस गेटमा आइपुग्दा न्यूज रुमका सहकर्मी साथीहरुले ऊ तपाईको परममित्र आइपुग्नुभो भन्ने पनि गर्नुहुन्थ्यो । जसरी भने पनि त्यो वास्तविकता थियो । त्यो मित्रता र सामिप्यता नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जामा पनि थियो । म इन्जा ग्लोवलको उपाध्यक्ष एवं एसियाको अध्यक्ष छु भने उहाँ महासचिव हुनुहुन्थ्यो । तीन हप्ता अगाडि मात्रै उहाँसहित साथीहरुको सक्रियतामा भब्य रुपमा इन्जा डे सम्पन्न गरिएको थियो । आज त्यो साथी हामी बीच हुनुहुन्न भन्न पनि मनले मानेकै छैन ।
उहाँले अन्तिम चिया गफमा यस पटक इन्जा डे कार्यक्रम चार बर्ष यताकै भब्य भयो बसेर समीक्षा गर्ने होइन र भन्नु पनि भएको थियो तर इन्जा डे कार्यक्रमको समीक्षा पनि गर्न नपाउँदै मित्रलाई गुमाउनु परेको छ ।
कोही पनि अजम्मरी त छैन, एक पटक जाने नै हो तर त्यो उमेरमा जाने कुरा यति अकल्पनीय भएको छ कि त्यसको कुनै सीमा नै छैन । कुनै रोग लागेर लामो समयदेखि थलिएको भए वा उमेर पुगेको भए के गर्ने त भनेर मनले मान्न पनि सक्ने थियो होला । वास्तबमा मित्र दीपेन्द्रको निधनले पत्रकारिता क्षेत्रले एक कर्मठ लगनशील र सक्रिय व्यावसायिक पत्रकार गुमाएको छ । रेडियो क्षेत्रसँगै चलचित्र पत्रकारितामा उहाँको सक्रियता उत्तिकै थियो । पत्रकारितामा बहुआयामिक मित्र दीपेन्द्रको अकल्पनीय निधनले परिवारका लागि त असैह्य र बज्रपात नै भएको छ भने हामी जस्ता साथीहरुलाई पनि स्तब्ध बनाएको छ । हामीले अति असल मित्र गुमाएका छौँ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले एक कर्मठ सहयात्री गुमाएको छ ।
यो दु:खद् एवं अति असैह्य पीडामा रहनुभएका चाँदनी मेडम, छोरी र सानो छोरा एवं उहाँको परिवारलाई शोकलाई शक्तिमा रुपान्तरण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु । मित्र दीपेन्द्रप्रति हार्दिक श्रद्धासुमन । परिवारजनमा समवेदना ।
१४ दिनमा २० लाख बढी मेडिसिटीलाई बुझाएर कपडामा बेरेर मित्र दीपेन्द्रलाई शवको रुपमा देख्नुपरेको छ । सरकारी अस्पतालमा बेड खोज्दा पाइदैन । सरकारी अस्पतालकै चिकित्सक पनि निजीमा काम गर्छन् उनीहरुले पनि सरकारीमा पुग्दा यहाँ गाह्रो छ फलानो अस्पताल लैजानुस भन्न गाह्रो मान्दैनन् । किनकि त्यहाँ जाँदा तिनै चिकित्सक हुन्छन् । त्यो कुरा राज्यलाइ थाहा छ र पनि थाहा नपाए जस्तो गरिएको छ किनकि राज्य सञ्चालकहरुले नै शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् र सबै भन्दा नाफामुलक ब्यापार नै शिक्षा र स्वास्थ्य भएको छ ।
आज मित्र दीपेन्द्रको परिवारले बचाउन सकिन्छ कि भनेर आफन्त र सहयोगी मार्फत् १४ दिनमा त्यति ठुलो धनराशी खर्च गर्यो । मेडिसिटीको इक्यूपमेण्ट प्रयोग गरी अप्रेशन गरेपछि त्यसपछिको उपचार शिक्षण अस्पताल र वीर अस्पतालमा पनि हुन्छ भन्ने कुरा भएपछि शिक्षण अस्पतालमा प्रयास गर्दा आइसियुको बेड छैन तर नेताहरु वा उच्चपदस्थ अधिकारीको सोर्स लगाए बेड पाइन्छ भन्ने कुरा अस्पतालकै जिम्मेवार अधिकारीले भने । आर्थिक अवस्था कमजोर भएका र पहुँच नभएकालाई उपचार पाउन पनि गाह्रो हुने मुलुकमा हामी छौ । आर्थिक हिसाबले सम्पन्न भएपनि नेता र उच्च पदस्थ अधिकारी भए राज्यले नै खर्च गरेर पनि उपचार गर्न विदेश लैजाने गरिन्छ । विदेश नगइहाले सरकारीमा होइन तिनै ब्यापारिक अस्पतालमा लगेर राज्यको खर्च भरिन्छ ।
अन्त्यमा, सबैका लागि सर्बसुलभ शिक्षा र स्वास्थ्य भन्ने आवाज मिडियामार्फत् बुलन्द गर्दा गर्देै मित्र दीपेन्द्रको अल्पायुमै निधन भएको छ यदि राज्यका जिम्मेवार निकायले दोङ जस्ता जो कोही नेपाली अकालमा मृत्यु हुँदा उपस्थिति देखाएर वा शब्दमार्फत् सच्चा श्रद्धाञ्जलि दिने हो भने नेपाली नागरिकले सर्बसुलभ रुपमा उपचार पाउने ब्यबस्था गर्नुपर्छ । तब मात्र मृतात्माप्रति सच्चा श्रद्धाञ्जलि हुने छ र पदमा बसेको आफनो जिम्मेवारी पनि पुरा हुने छ त्यही छ कामना । पुन मित्र दीपेन्द्र तपाईको शरीर हामीबीच नरहेपनि हाम्रो मानसपटलमा सधैँ अमर रहनु हुनेछ । जनतासमाचार डट कमबाट